दफा १८
सरुवा गर्ने अधिकार
(१) निजामती कर्मचारीलाई देशको विभिन्न भौगोलिक क्षेत्रको अनुभवसमेत दिलाउनका लागि उपदफा (३) बमोजिम सरुवा गरिनेछ र त्यस्तो सरुवा गर्ने अधिकार अख्तियारवालालाई हुनेछ ।
तर,
(क) एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयको निजामती कर्मचारीलाई अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा समान्य प्रशासन मन्त्रालयले सरुवा गर्नेछ ।
(ख) प्रशासन सेवा, लेखा समूहका कर्मचारीहरूको सरुवा महालेखा नियन्त्रकको कार्यालयले गर्नेछ ।
(२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीलाई सरुवा वा पदस्थापना गर्दा सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा नेपाल सरकारको मुख्य सचिव र सामान्य प्रशासनमन्त्रालयका सचिव सदस्य रहेको समितिको सिफारिसमा नेपाल सरकारले गर्नेछ । सामान्य प्रशासन मन्त्रालयका सचिवको समेत सरुवा सिफारिस गर्नुपर्ने अवस्थामा सो समितिको बैठकमा सामान्य प्रशासन मन्त्रालयको सचिवको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवले समितिको सदस्यको रूपमा भाग लिनेछ ।
(२क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ६ को उपदफा (२) मा उल्लिखित सेवाको विशिष्ट श्रेणीको पदमा कार्यरत कर्मचारी सोही सेवाको विशिष्ट श्रेणीको पदमा मात्र सरुवा हुन सक्नेछ ।
(३) विशेषज्ञताको सेवा लिनुपर्ने पदमा रहेको र स्थानीयस्तरमा अन्यत्र कतै पनि निजको सेवा, समूह वा उप–समूहसम्बन्धी पद तथा कार्यालय नभएको निजामती कर्मचारी र विशिष्ट श्रेणी तथा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारीबाहेक अन्य निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले सामान्यतया वर्षमा एकपटक तोकिएबमोजिमको समय तालिकाअनुसार देहायबमोजिम सरुवा पत्रमा अवधि तोकी सरुवा गर्नुपर्नेछः–
(क) “क” वा “ख” वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा डेढ वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई“घ” वा “ग” वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको लागि । (ख) “ग” वा “घ” वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई “ख” वा “क” वर्गको भौगोलिक क्षेत्रको
कार्यालयमा कम्तीमा दुई वर्षको लागि ।
स्पष्टीकरण :-यस दफाको प्रयोजनको लागि “एक वर्ष” भन्नाले कम्तीमा दुई सय तेत्तीस दिन रुजु हाजिर भएको अवधिलाई जनाउनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा निजामती कर्मचारीलाई निजको सरुवा पत्रमा तोकिएको अवधि नपुग्दै सामान्य प्रशासन मन्त्रालयको सहमति
लिई सरुवा गर्न सकिनेछ –
(क) कुनै स्थानमा कार्यरत निजामती कर्मचारी अशक्त भई सो स्थानमा निजको उपचार हुन नसक्ने देखिएको कुरा नेपाल सरकारद्वारा तोकिएको मेडिकल बोर्डले सिफारिस गरेमा,
(ख) कुनै निजामती कर्मचारीलाई विशेष जिम्मेवारी दिनुपरेमा,
(ग) कुनै निजामती कर्मचारीलाई विभागीय कारबाही गर्नुपरेमा,
(घ) कुनै निजामती कर्मचारीलाई निज कार्यरत कार्यालयमा राखिराख्न उपयुक्त नभएमा,
(ङ) निजामती सेवाको कुनै दरबन्दी कटौती भई सो दरबन्दीमा कार्यरत कर्मचारी फाजिलमा परेको र निजलाई सोही जिल्लास्थित अन्य कार्यालयमा समेत समायोजन गर्न सक्ने अवस्था नरहेमा,
(च) राजपत्र अनंकित निजामती कर्मचारीहरूलाई घर पायक सरुवा गर्नु ।
तर राजपत्र अनङ्कित पदमा लोक सेवा आयोग वा बढुवा समितिबाट सिफारिस भएको तथा राजपत्राङ्कित पदमा लोक सेवा आयोग वा बढुवा समितिको सिफारिसमा पहिलो पटक
पदस्थापन भएको कार्यालयको उपदफा (३) बमोजिमको अवधि नपुगी कुनै पनि कर्मचारीको 
सरुवा हुने छैन । (५) यस दफाबमोजिम सरुवा गर्दा रिक्त पद मिलेसम्म निजामती सेवाको राजपत्र
अनंकित श्रेणीमा कार्यरत कर्मचारीको पति पत्नी दुवै सरकारी सेवामा भए एउटै जिल्लामा पठाइनेछ ।
(६) उपदफा (३) बमोजिम सरुवा गर्नुपर्ने भौगोलिक क्षेत्रको सम्बन्धित सेवा, समूह वा उपसमूहको पद भएको कार्यालय नभएमा वा सरुवा हुनुपर्ने भौगोलिक क्षेत्रको कार्यालयको पदमा कार्यरत कर्मचारीको तोकिएको सेवा अवधि नपुगेको भएमा त्यसपछिको सरुवा हुनुपर्ने क्रमको भौगोलिक क्षेत्रको कार्यालयमा सरुवा गर्न सकिनेछ ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो उपदफा प्रारम्भ भएपछि नियुक्ति हुने राजपत्र अनंकित निजामती कर्मचारीलाई लोकसेवा आयोगबाट जुन अञ्चलअन्तर्गत सिफारिस गरिएको हो, सोही अञ्चलभित्रका कार्यालयहरूबाहेक पाँच वर्षसम्म अन्यत्र सरुवा गरिने छैन ।
तर राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा सिफारिस भएको कर्मचारीले सिफारिस भएको कार्यालयको उपदफा (३) बमोजिमको अवधि सेवा गरेपछि सो विकास क्षेत्रभित्र सरुवा हुन सक्नेछ ।
(८) उपदफा (४) को खण्ड (ग) को अवस्थामा बाहेक अन्य परिस्थिति परी यस दफाबमोजिमको अवधि नपुग्दै कुनै निजामती कर्मचारीलाई सरुवा गरिएमा त्यस्तो कर्मचारीलाई नयाँ ठाउँमा बन्दोबस्त गर्नको लागि तोकिएबमोजिमको रकम दिइनेछ ।
तर कुनै कर्मचारी आफ्नो अनुरोधमा सरुवा भएको वा काठमाडाँै उपत्यकाभित्रको एउटा निकायबाट काठमाडौं उपत्यकाभित्रकै अर्को निकायमा वा एउटै जिल्लाको जिल्ला सदरमुकामभित्रको एउटा कार्यालयबाट सोही जिल्लाको सदरमुकामभित्रको अर्को कार्यालयमा गरिएको सरुवामा वा अवधि नतोकिने पदको सरुवामा त्यस्तो रकम दिइने छैन ।
(९) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अध्ययन बिदामा रहेको वा स्वतः निलम्बनमा रहेको वा छ महिनाभन्दा बढी अवधिसम्म अन्य कुनै बिदामा रहेको वा तीन महिनाभन्दा बढी अवधि काजमा खटिएको वा कुनै खास कामको लागि वा कुनै खास आयोजना कार्यान्वयन गर्नको लागि खटाइने कर्मचारीको पदाधिकार जिल्लास्तरको कार्यालयमा वा कार्यालय प्रमुख वा विभागीय प्रमुखको पदमा रहेको भए सामान्य प्रशासन मन्त्रालयको सहमति लिई सो अवधिभरको लागि विशेष पद सिर्जना गरी त्यस्तो कर्मचारीको पदाधिकार केन्द्रीयस्तरको निकायमा सार्न सकिनेछ ।
(१०) उपदफा (३) को खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयको निजामती कर्मचारीलाई अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सामान्य प्राशासन मन्त्रालयले सरुवा गर्न सक्नेछ ।
(११) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको खण्ड (ग), (घ) वा (ङ) को अवस्थामा बाहेक सम्बन्धित कर्मचारी आफैले स्वेच्छाले निवेदन नदिई राजपत्र अनङ्कित वा श्रेणीविहीन कर्मचारीलाई उपदफा (३) बमोजिमको अवधि पूरा नभई सरुवा गरिने छैन ।
(१२) यस दफा विपरीत सरुवा गर्ने पदाधिकारीलाई अख्तियारवालाले विभागीय कारबाही गर्नेछ र त्यस्तो सरुवा सामान्य प्रशासन मन्त्रालयले रद्द गर्नेछ । सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा भए नेपाल सरकार, मन्त्रिपरिषद्ले रद्द गर्नेछ ।
(१३) सरुवासम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।